
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा देखिएका यावत बेथीतिका बिरुद्ध प्रा. डा. गोविन्द के. सी. विगत छ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ । उहाँ एक कुशल चिकित्सक मात्र नभएर हरपल मानव सेवाको भावले ओतप्रोत रहने असल व्यक्ति समेत हुनुहुन्छ । उहाँले त्रिवि चिकत्साशास्त्र अध्ययन संस्थानको प्रभावकारी संचालनको विषय र समग्र विश्वविद्यालयको सुधारका निम्ति गरिरहनु भएको कठोर संघर्ष र साहसले उहाँ हामी सबैका लागि प्रेरक व्यक्तित्वको रुपमा स्थापित हुनु भएको छ ।
डा. केसी कहिल्यै पैसाको पछि लागेनन्। क्लिनिक उनले खोल्दै खोलेनन्, जहिल्यै अस्पतालको सेवामा जुटे। वर्षमा दुई पटक दुई–दुई साता दुर्गम जिल्लाको सेवामा अर्पेका छन्, १६ वर्षदेखि। पहाडी जिल्लामा धेरै मानिस घाँसदाउरा गर्दा भीरपाखा र रूखबाट लड्ने हुनाले सुविधाजनक अस्पताल पुग्नुअघि राम्रो प्राथमिक उपचार हुनसकोस् भनेर उनी स्वास्थ्यकर्मीहरूलाई हाडजोर्नी सम्बन्धी उपचार विधि सिकाउँछन्। “गत वर्ष ओखलढुङ्गाहुँदै पैदलै दिक्तेल आउनुभयो”, खोटाङ जिल्ला अस्पतालका नासु मणि ढकाल भन्छन्, “यहाँका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिएर भोजपुरतिर लाग्नुभयो।”
डा. केसीले गत वर्षको तिहार डडेलधुरा र दार्चुलामा बिताए अनि गएको जेठमा तनहुँको बन्दीपुरमा शिविर चलाए। नियमित जिल्ला जाने बाहेक झ्ाडापखाला, शीतलहर वा बाढी–पहिरोको समाचार सुनेपछि उनी बिदा लिएरै भए पनि हिंडिहाल्छन्। गएको हिउँदमा तराईमा शीतलहर चल्दा उनी औषधी, न्याना कपडा र कम्बलहरू बोकेर महोत्तरीका गाउँहरूमा पुगे, स्वास्थ्य शिविर पनि चलाए। रामेछापको माकाडुम गाविसमा जन्मेका डा. केसी यसैगरी देशका ७५ जिल्ला पुगेका छन् र ६० जिल्लामा स्वास्थ्य शिविर चलाएका छन्।
आफ्नो सम्पुर्ण जीवन गरिब र दुःखीको सेवामा अर्पित गर्ने उहाँ जस्ता महान व्यत्ति पाउदाँ अझै पनि यो देशमा मानवता र राष्ट्रियताका उदाहरण छन् भनेर भन्ने ठाउँ भेटिन्छ तर अज उहाँले जायज माग लिएर आमरण अनशन बस्दा सम्बन्धित पक्षले कुनै चासो नदेखाउँदा हामीलाइ असहज महशुस भएको छ, त्यसैले उहाँको प्राणरक्षाको माग गर्दै परेवा नेपालले गरेको यस शान्तिपुर्ण दिप प्रज्वलन एवम् डकुमेन्ट्रि प्रदर्शनीमा साथ दिने सम्पुर्ण पोखराका स्थानीय वासिन्दालाइ धन्यवाद दिदैं उहाँको छिटो भन्दा छिटो प्राण रक्षाको माग राख्दछ ।
वास्तवमा उहाँ जस्तो चिकित्सक पाउनु यो सिङ्घो राष्ट्रकै लागि गैारवको विषय हो तथा उहाँले उठाएका मागहरू पनि नितान्त जायज छन् ।
परेवा नेपालको आयोजना तथा विद्यार्थी कल्याणकारी समूह (पोखरा वहुमुखी कलेज) एवम् युवा नेतृत्व नेपालको सहयोगमा नेपालका आदरणीय समाजसेवी, एवम् राष्ट्रप्रेमी प्रा.डा. गोविन्द के.सी. जस्ता महान् व्यत्तित्वको जीवन रक्षाका निम्ती गरेको शान्तीपुर्ण दिप प्रज्वलन एवम् उहाँको जीवन सम्वन्धी डकुमेन्ट्री प्रदर्शन कार्यक्रमका केहि तस्विरहरू ।